विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल प्रचण्ड तीन पटक देशको प्रधानमन्त्री भएपनि केही काम गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै ओलीले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गरे ।
एमालेको किकासको नीतिले आत्तिएर खुद्रा पसल बन्द भएपछि विरोधीहरु एक भएर एमालेलाई घेराबन्दी गर्न खोजेको ओलीको भनाई छ ।
प्राकृतिक र संस्कृतिक हिसाबले अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताउँदै उनले अब एमालेले त्यो अभिभारा पुरा गर्नुपर्ने बताए ।
प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको ओलीले बताए । एमाले अब मिसन ८४ मा लागेको बताउँदै अध्यक्ष ओलीले भने, ‘अनेक घेराबन्दीका बिच कोशी प्रदेशमा एमाले अघि छ । एमालेले मिसन ८४ अघि बढाएको छ ।’
यस्तै ओलीले अर्को प्रशंगमा मूल कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको बताए । तत्कालीन नेकपा अदालतले नभई माधव र प्रचण्डले फुटाएको ओलीको आरोप छ ।