विराटनगर : नेकपा एमालेको प्रथक कोशी प्रदेश अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ । अधिवेशनको उद्धाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
विराटनगरको मनास्लु होटलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनका लागि प्रदेशका १४ वटै जिल्ला र जनसंगठनबाट प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि प्रदेशभरबाट एक हजार ४७ प्रतिनिधि छनोट भएका छन् ।
प्रदेश अधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक एवं प्रदेश कमिटीका उपसचिव शैलेश लामाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटको स्वीच थिचेर अधिवेशनको ब्यानर उघार्ने कार्यक्रम तय गरिएको छ ।
अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ ।
एमालेको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म चारजना आकांक्षी देखिएका छन् । एमालेले प्रदेश अध्यक्षलाई पोलिट्ब्युरो सदस्य सरहको मान्यता दिएपछि अध्यक्ष बन्न केन्द्रीय नेताहरु पनि लबिङमा छन् ।
एमाले केन्द्रीय सदस्य विनोद ढकाल, घनश्याम खतिवडा, वर्तमान प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङ अध्यक्ष बन्ने लाइनमा छन् । चारै जनाले अध्यक्षको तयारी गरिरहेका छन् । चार जनाले आकांक्षा देखाए पनि ढकाल र खतिवडा मुख्य प्रतिस्पर्धि भएको एमाले नेताहरु बताउँछन् ।
यस्तै अध्यक्ष पछिको अर्को महत्वपूर्ण पद सचिवमा अहिलेसम्म दुई जनाले आकांक्षा देखाएका छन् । प्रदेश सचिवका लागि पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले दाबी गरेका छन् ।
भण्डारी एमाले पाँचथर जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । २०७९ मंसिरको निर्वाचनमा उनी प्रदेशसभा १ बाट उम्मेदवार थिए । तर, निर्वाचनमा भण्डारी पराजित भएका थिए ।
तिवारी अहिले प्रदेश कमिटीको सचिवालय सदस्य छन् । उनी पूर्व कोशी प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत भइसकेका नेता हुन् । उनले २०७३ देखि ०७९ सम्म एमाले तेह्रथुम जिल्ला कमिटीको अध्यक्ष भएर काम गरिसकेका छन् ।
एमालेको कोशी अधिवेशनमा प्यानल बनाएर चुनाव गर्न नदिने नेताहरुको भनाइ छ । एमाले सचिव तथा प्रदेश इन्चार्ज रघुविर महासेठले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने बताए । सहमति नभए निर्वाचन हुने तर प्यानल बनाउन नदिने उनले बताए ।