विराटनगर । कोशी प्रदेशका नवउद्यमी, उद्यमशिलता विकास र प्रवद्र्धनका लागि २० करोड रुपैयाँ बराबरको थप लगानीको प्रतिवद्धता भएको छ ।
विराटनगरमा बिहिबार आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा कोशी प्रदेशका विभिन्न आठओटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशिलताको विकास र प्रवद्र्धनका सो प्रतिबद्धता आएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्वीस कन्ट्याक्ट लगायतको सहभागीतामा आयोजित लगानी सम्मेलनमा चिया, माछा, अलैंची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिवद्धता प्राप्त भएको हो ।
सम्मेलनमा सहभागी फण्ड म्यानेजमेन्ट क्षेत्र सम्वद्ध संस्थाहरुले नेपालमै बसेर नवउद्यम प्रवद्र्धनमा लागेका उद्यमीहरुलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा आध्यन्त फण्ड अन्तरगत आठ महिनाको अवधिमा उद्यम प्रवद्र्धन गरिएका आठ जना नवउद्यमीहरुले आफ्नो उद्यमशिलताको क्षेत्र, लगानी र अवसरहरुबारे जानकारी गराएका थिए ।
इलामको रक्तकाली टि इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका बिष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि बिष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिनानाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्स प्रकृति गौतमले आफ्नो प्रस्तुति दिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए । उनले सबै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनु पर्ने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशिलताको विकास र नविनतम् खोजलाई प्रवद्र्धन गर्दै उनीहरुको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए । उनले राम्रो योजना बनाएर काम गर्न चाहने युवा तथा महिला उद्यमीहरुलाई महासंघले समेत प्रोत्साहित गर्दै आइरहेको जानकारी दिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शीपको विकास बिना मुलुकको विकास नहुने बताए । युवा जनशक्तिमा तालिमको अभाव भएकोले दक्षताबिनै विदेशिने र विदेशमा समेत राम्रो अवसरबाट बञ्चीत हुनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै उद्यमशिलताको क्षेत्रमा लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका अवसरमा आद्ययन्त फण्डले विगत ८ महिना यता कोशी प्रदेशमा उद्यमशीलताको विकासको क्षेत्रमा गर्दै आइरहेको सहयोग बारे तयार पारिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो । कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग बाणिज्य संघ, उद्योगी व्यवसायी संघसंस्था र उद्यम क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।