Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्धको रिटमा विपक्षीका तर्फबाट बहस हुँदै, पूर्ण इजलासले मतदानको भिडियो फुटेज हेर्ने



विराटनगर । कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।
न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारबाट सुरु भएको सुनुवाइ हिजो हेर्दाहेर्दैमा सकिएको थियो । सोमबार रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको छ ।
आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाइ हुनेछ । रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेशसभा सचिवालयसहित विश्वासको मत लिने दिन प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी र गीता तिम्सिनालाई विपक्षी बनाइएको छ ।
विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको सूची रहेको छ । कोशी प्रदेशका मुख्यन्यायाधीवक्ता बुद्धिबहादुर कट्टुवालका अनुसार समय सीमा छुट्याएर बहसको समय तोकिएको बताए ।
सोमबार रिट निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, डा।सुरेन्द्र भण्डारी, बाबुराम दाहाल, उषा मल्ल पाठक र अधिवक्ता शान्तिराम खतिवडाले बहस गरेका हुन् ।
भदौ ४ मुख्यमन्त्री थापाले प्रदेश सभाको बैठकमा अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदान गराएर ४७ पुर्‍याएर विश्वासको मत प्राप्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापाले सोही धाराको उपधारा (४) अनुसार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । तर सभाध्यक्षले मत बराबरी भएको अवस्थामा बाहेक मत दिन नपाउने संवैधानिक व्यवस्था विपरीत मन्सुरीले मतदान गरेर मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको दाबी गर्दै एमालेका कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार