सन्तोष घिमिरे र जिवी गजल
विराटनगर : नेकपा एमालेका २२ वटा भातृ संगठनमध्ये अनेरास्ववियु नेताहरुको बढी चासोमा पर्ने गरेको छ । एमालेमा नेता जन्माउने कारखानाका रुपमा अखिल स्थापित भएको छ । अहिले एमालेको नेतृत्व तहमा हेर्ने हो भने पनि अधिकांश नेताहरु विद्यार्थी राजनीतिबाटै उदाएका छन् । त्यही कारण पनि अनेरास्ववियुलाई अन्य संगठनको तुलनामा बढी महत्व दिने गरेको पाइन्छ ।
गत फागुनमा २३ औँ राष्ट्रिय सम्मेलन गरेको अनेरास्ववियु अब प्रदेशहरुमा अधिवेशनको तयारीमा जुटेको छ । असोजसम्ममा सातवटै प्रदेशमा प्रदेश कमिटीको पहिलो अधिवेशनको तयारी भएको छ ।
अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १५ र १६ गते विराटनगरमा हुँदैछ । मिति नजिकिएसँगै अधिवेशनको तयारीलाई तीव्र बनाइएको विद्यार्थी नेताहरु बताउँछन् ।
प्रदेश कमिटीमा यसअघि गोकर्ण घिमिरे आयोजक कमिटी संयोजक थिए । अधिवेशन सम्पन्न गर्नका लागि उनकै संयोजत्वमा मूल आयोजक कमिटी बनेको छ । प्रथम अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आठ वटा उपसमितिका संयोजक पनि तोकिएका छन् ।
यसअघि ठूलो र भद्धा रहेको आयोजक कमिटीको संख्या घटाएर प्रदेशमा अब ५१ सदस्यीय कमिटी बनाउने छ । अधिवेशनले ९ जना पदाधिकारी र ४२ जना सदस्य निर्वाचित गर्नेछ ।
पहिलो पटक हुन लागेको अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना लाइनमा छन् । अध्यक्षका लागि जिबी गजल खड्का र सन्तोष घिमिरेले आकांक्षा देखाएका छन् । दुवै जनाले अध्यक्षको उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
उनीहरु पूर्वको विद्यार्थी आन्दोलनमा लोकप्रिय छन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनीहरु प्रदेशको अध्यक्ष बन्न तीव्र लबिङमा छन् ।
२०६२/६३ को जनआन्दोलनमा सहभागी भएका खड्का २०६५ सालमा भएको स्ववियु निर्वाचनमा जनता बहुमुखी क्याम्पस इटहरीमा सचिवमा निर्वाचित भएका थिए । त्यसपछि सुनसरी जिल्ला सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै केन्द्रीय सचिवालय सदस्यसम्म भएका नेता हुन् ।
२३ औँ राष्ट्रिय सम्मेलनबाट पदाधिकारी बन्ने लाइनमा रहेका खड्कालाई त्यसबेला पार्टीका नेताहरुले प्रदेशको नेतृत्व गर्न सुझाव दिएपछि उनी ब्याक भएको उनी निकट नेताहरु बताउँछन् । ‘उहाँ (जिबी गजल) केन्द्रीय पदाधिकारी बन्ने चाहानामा हुनुहुन्थ्यो । जित्नु पनि हुन्थ्यो । तर, नेताहरुले अनुरोध गरेपछि त्यसबेला उहाँ प्रदेशको नेतृत्व लिन सहमत भएर ब्याक हुनुभएको हो । त्यसैले उहाँको विकल्प छैन् ।’ उनी निकट एक नेताले भने ।
२०५९ सालदेखि अनेरास्ववियुको राजनीतिमा लागेका घिमिरे अखिलको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्षहुँदै दुई कार्यकाल अध्यक्ष भएका विद्यार्थी नेता हुन् । उनले केन्द्रीय कमिटीमा रहेर पनि काम गरिसकेका छन् ।
पूर्वमा विद्यार्थी आन्दोलनको धरोहर मानिने महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीति शुरूगरेका घिमिरे राजा विरोधी संयुक्त विद्यार्थी आन्दोलनमा पनि सहभागी भएका थिए । तत्कालीन अवस्थामा पार्टीभित्र भएको अन्तर संर्घषको मारमा परेर सुकुनामा निरन्तर अखिलमा लाग्दा पनि कुनै जिम्मेवारी नपाएका घिमिरेलाई यसपटक न्याय हुनुपर्ने उनी निकट नेताहरु बताएँछन् ।
उनी निकट मोरङका एक नेता भन्छन्, ‘पूर्वमा सन्तोष घिमिरे विद्यार्थी आन्दोलनका धरोहर हुन । समग्र प्रदेशको विद्यार्थी आन्दोलनलाई चलायमान बनाउन र शैक्षिक क्षेत्रको सुधारको लागि उहाँको नेतृत्व आवश्वयक छ ।’
अध्यक्षका लागि खड्का र घिमिरेले दाबी प्रस्तुत गरेपनि निर्वाचन हुने सम्भावना भने न्यून रहेको नेताहरु बताउँछन् । एमाले कोशी प्रदेशका एक जना नेताका अनुसार दुवै जनाबीच सहमति गरेर एक जनालाई अध्यक्ष बनाउने तयारी छ ।