Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गठबन्धनसँग कुनै सम्झौता भएको छैन्, एमालेसँगको सहमति तोड्दैनौँ : सिटौला



विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले कोशीमा सत्ता गठबनधनलाई सहयोग गर्ने कुनै सम्झौता नभएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत संसदीय समितिमा नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति गठबन्धनले राप्रपालाई दिएपछि कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने भनेर चर्चा चहिरँदा सिटौलाले त्यस्तो कुनै सम्झौता नभएको प्रस्टिकरण दिए ।

केन्द्रमा पूर्वाधार विकास समितिको सभापति पाएपछि राप्रपाले कोशीमा गठबन्धनलाई सहयोग गर्छ भनेर निराधार हल्ला चलाइएको उनले बताए । उनले भने, ‘हामीले सरकारसँग लडेर समितिको सभापति लिएका हौँ । सभापति लिनका लागि राप्रपाले कुनै सम्झौता गरेको छैन् । यो निराधार हल्ला हो ।’

चुनावी समयबाटै आफूहरु एमालेसँगको सहकार्यमा रहेका कारण उक्त सहकार्य जारी रहेको उनले बताए । राप्रपा एमालेसँगको सहकार्य तोड्ने पक्षमा नरहेको उनको भनाई छ ।

एमालेले अब आफ्नो नेतृत्वमा सरकार बनाउने र विश्वासको पुर्याउने आश्वसन दिएको बताउँदै उनले भने, ‘एमालेले विश्वासको मत पुर्याउन सके उसैलाई मत दिन्छौँ । मैले हिजो केपी शर्मा ओलीसँग पनि कुरा गरेको छु । उहाँले हामी विश्वासको मत पुर्याउछौँ भन्नुभएको छ । त्यसैले एमालेसँग हाम्रो लङट्रम सहमति भएको छ । यत्तिकै सहकार्य तोड्दैनौ ।’

यदि ठूलो दलको हैसियतमा एमालेले पनि विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ५ मा पुगेपछि आफ्नो पनि मुख्यमन्त्रीमा दाबी रहने उनले बताए । त्यसबेला सबै दलका सांसदहरुसँग छलफल गरेर आफूले निर्णय लिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार