विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खलेको बताएका छन् । प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको उनले बताए ।
नेकपा एमालेको कोशी प्रदेश कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा बलमिच्याइ भएको बताए । उनले भने, ‘कोशी प्रदेशमा गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइ गरेर फोहोरी राजनीति गरिरहेका छन् ।’
प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रको गठबन्धन चुपचाप रहेको बताउँदै ओलीले भने, ‘अदालतले सरकार गठन अवैध भनि सकेको छ त्यही उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन् ।‘
गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप छ ।
यस्तै उनले गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै पहिचानबाट राजनीति नहुने बताए । सबै जातजाति मधेसी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनले बताए । सबै जातजातिलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।