Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले नाटकीय रुपमा आफ्ना सांसदलाई अनुपस्थित गरायो : आङ्बो



विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेले नाटकीय रुपमा आफ्ना सांसदलाई अनुपस्थित गराएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव राखिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवार प्रमुख प्रतिपक्षीले संसदीय व्यवस्थामै नकारात्मक सन्देश प्रवाह गरेको आरोप लगाए ।

रातारात उपसभामुखलाई बिरामी बनाइएको उनको आरोप छ । ‘विश्वासको मत लिने दिन ९ जना माननीयलाई एक्कासि बिदामा राख्ने काम भएको छ,’ आङ्बोले भने, ‘उपसभामुखलाई रातारात बिरामी बनाइएको छ।’

‘संसदभित्रबाट बकाइदा विश्वासको मत लिने हो । संसद विघटन गर्न खोजेको होइन । त्यसो भएकोले सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ?,’ आङ्बोले भने, ‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने । अरुको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने ? यो विचित्रको प्रदर्शन प्रदेशसभामा किन गरिरहेका छौं ।’

बिरामी अवस्थाकी उपसभामुख आफैं ठमठमी हिँडेर जहाजमा चढेको भन्दै उनले ब्यंग्य पनि गरे। निकास खोज्न सकारात्मक हिसाबले वार्ता गरिएको भएपनि जिम्मेवार प्रतिपक्षीले धोका दिएको उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार