Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा राप्रपा सांसदलाई गठबन्धनको प्रस्तावः १० करोड र मन्त्री !



मुख्यमन्त्री उद्धव थापा र राप्रपा संसदीय दलका नेता भक्ति सिटौला

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिँदै छन् ।

नेपाली कांग्रेससहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत लिन चुनौती छ । किनकी गठबन्धनले माओवादीका बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर बहुमत पुर्याएको हो ।

सभामुखबिहीन रहेको कोशीमा अहिले एमालेकी सिर्जना दनुवार उपसभामुख छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । एमालेले उपसभामुखलाई राजीनामा गराउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

यस्तो अवस्थामा प्रदेशसभामा रहेको सदस्यहरुमध्ये जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने हुन्छ । गठबन्धनले चलाखी गरेर जेष्ठ सदस्य रहेका कांग्रेसका गयानन्द मण्डललाई राज्यमन्त्री बनाइसकेको छ ।

गठबन्धनको चलाखी चिर्न एमालेले पनि आफ्ना जेष्ठ सदस्यलाई विश्वासको मत लिने दिन अनुपस्थित गराउन सक्छ । प्रदेशमा एमाले र राप्रपा एकातिर छन् ।

विश्वासको मत लिने समय छोटो रहेका आफूसँग पर्याप्त बहुमत नभएको अवस्था गठबन्धनले राप्रपालाई फकाउन अनेक प्रयास गरिरहेको छ । यहाँसम्म गठबन्धनले राप्रपा सांसदको घरमै पुगेर पद र पैसाको अफर गरेको खुलासा भएको छ ।

राप्रपाका अध्यक्ष रापेन्द्र लिङ्देनले शनिबार दिउँसो आफ्नो फेसबुकमार्फत आफ्ना सांसदहरुलाई घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव आएको सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु. १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त ।’

लिङ्देनले उक्त स्टाटस लेखेपछि उनीसँग पूर्वेलीप्रेसले कुरा गार्यो । कुराकानीका क्रममा उनले उक्त प्रस्ताव आएको कुरा स्वीकार गरेका छन् । उनले भने, ‘हाम्रो एक जना प्रदेश सदस्यको घरमा गएर उनीहरुले मन्त्री र रु. १० करोड दिन्छौ भनेर प्रस्ताव गरेछन् । ती सांसदले मलाई भर्खरै फोन सम्पर्कमार्फत जानकारी गराएका छन् ।’

प्रदेशमा जस्तोसुकै प्रस्ताव आएपछि राप्रपाले अहिलेको सरकारलाई कुनै पनि हालतमा समर्थन नगर्ने उनले बताए । पूर्वेलीसँग उनले भने, ‘हामीले किन विश्वासको मत दिने ? अहिले हामीलाई जे प्रस्ताव आएपनि हामी सहभागी हुँदैन् । बरु एमाले र कांग्रेस मिलेर सरकार बनाउन ।’

राप्रपाका कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टले आफूसँग त्यस्तो प्रस्ताव नआएपनि अन्य सांसदलाई आएको हुनसक्ने संकेत गरे । यस विषयमा उनी खुल्न चाहेनन् । राप्रपाकी अर्की सांसद सविना बजगाईंले पनि आफूहरु अहिले यो सरकारमा सहभागी नहुने बताइन् ।

राप्रपाका अर्का एक सांसदले त्यस्तो खालको प्रस्ताव आफ्ना सांसदलाई आएको बताए । नाम उल्लेख नगर्ने शर्तमा ती सांसदले भने, ‘एक जना माननीयलाई घरमै गएर प्रस्ताव गरेको भन्ने सूचना आएको छ । नाम चाहिँ उल्लेख नगरीदिनुहोला ।’

यता, राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । उनको मोवाइल स्वीच अफ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार