विराटनगर : कोशी प्रदेशसभा बैठक सुरु भएको छ । दिउँसो १ बजेबाट बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी २:२० बजेबाट सुरु भएको हो ।
असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि बैठक स्थगित गरेका थियो ।
कोशी प्रदेशसभा अहिले सभामुखबिहीन छ । निवर्तमान सभामुख बाबुराम गौतमले गठबन्धनको सरकार बनाउन एक सांसद अपुग भएपछि पदबाट राजीनामा दिएका थिए । उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख त्यागेका गौतम अहिले उनको क्याबिनेटमा आर्थिक मामिला तथा योजना मन्त्री छन् ।
आजको बैठकको गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।
यस्तै, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गर्ने सम्बन्धमा परेको सूचना तथा अध्यादेशबारे निर्णय हुने अर्को कार्यसूची रहेको छ।
अघिल्लो कार्की नेतृत्वको सरकारले अध्ययादेशबाट ल्याएको बजेटमाथि पनि छलफल सुरु हुने बताइएको छ । प्रदेश सभामुखबिहीन रहेकाले उपसभामुख सिर्जना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।