विराटनगर : नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य जय प्रकाश चौधरीले इन्डक्सन चुलो फिर्ता गरेका छन् ।
प्रदेशका सांसदहरूलाई वितरण गरिएको चुलोको विषयमा चौतर्फी आलोचन भएपछि चौधरीले बुधबार प्रदेशसभा सचिवालय पुगेर फिर्ता गरेका हुन् ।
कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्यहरूलाई वितरण गरेको थियो ।
प्रदेशसभा सचिवालयबाट चुलो बुझेर लगेका २१ जना सांसद मध्ये तीन जनाले चुलो फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
चौधरीले आफू प्रदेशसभा जाँदा त्यहाँका कर्मचारीले तपाईंको सामान छ भन्दै दिएपछि आफूले चुलो लगेको बताए । उनले भने, ‘काम विशेषले प्रदेशसभा गएको बेला त्यहाँका कर्मचारीले तपाईंको सामान आएको छ लैजानु भनेपछि मैले चुलो लिए, कसले कसरी दियो भन्ने कुरा नबुझी मैले लगेको थिए, पछि थाहा पाएपछि फिर्ता गरे ।’
चौधरीले आफूले प्रदेशसभाले उपलब्ध गराउने घरभाडा वापतको रकमसमेत नलिएको बताए ।