विराटनगर : कोशी प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल उद्योग,कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्री मण्डलले पद तथा गोपनीयताको शपथग्रहण पनि गरिसकेका छन् ।
मण्डल मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ बाट निर्वाचित कांग्रेस सांसद हुन् ।
साउन १६ गते कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
थापाले मुख्यमन्त्री नियुक्त भए लगत्तै माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेका थिए । कठिन अंकगणितका कारण गठबन्धनको सरकार बनाउन बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।
त्यसपछि थापाले साउन २६ गते जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।
त्यसो त अहिले पनि थापाले विश्वासको मत पाउने बलियो आधार भने अझै निर्माण भइसकेको छैन् । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिने समय अब मुख्यमन्त्रीसँग १४ दिन बाँकी छ ।
सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । प्रदेशसभामा एमालेकी सिर्जना दनुवार उपसभामुख छिन् ।
विश्वासको मत लिने समयमा यदि एमालेले उपसभामुखलाई अनुपस्थित गराए उनै मण्डलले जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गर्नुपर्ने अवस्था थियो । तर, गठबन्धनले चलाखी गरेर त्यस्तो अवस्था आउन नदिन अगाडि नै उनलाई मन्त्री बनाएको हो ।
यदि मण्डललाई मन्त्री नबनाएको भए र विश्वासको मत लिने दिन उपसभामुख अनुपस्थित भए उनै मण्डलले सभा सञ्चालन गर्नुपथ्र्यो । त्यसो हुँदा अहिलेका मुखयमन्त्री उद्धव थापाको पक्षमा ४६ सांसद मात्रै हुन्थे । कोशीमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । किनकि सभा चलाउनेले बराबर मत भएको अवस्थामा मात्रै मत हाल्ने संवैधानिक व्यवस्था रहेको छ ।
मण्डल मन्त्री हुँदा पनि अझै यो सरकारले विश्वासको मत पाउने आधार प्रस्ट भने भइसकेको छैन् । मण्डलपछिका ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की छन्। एमालेले उपसभामुखलाई राजीनामा गराएर मुख्यमन्त्रीले विश्वासको मत लिने दिन ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउन सक्छ ।