Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा डेङ्गु र आँखा पाक्ने रोगसँगै भाइरल ज्वरोको प्रकोप बढ्दै



उदयपुर : उदयपुरमा पछिल्लो समय डेङ्गु र आँखा पाक्ने रोगसँगै भाइरल ज्वरोको प्रकोप बढ्न थालेको छ । त्रियुगा नगरपालिकामा यसको प्रकोप अन्य पालिकाको तुलनामा बढ्दो छ ।

भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामी उपचारका लागि आउन थालेको छन् ।

जिल्ला अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाका अनुसार अहिले भाइरलबाट सङ्क्रमित बिरामीहरु दैनिक तीन दर्जनसम्मको संख्यामा उपचारका लागि जिल्ला अस्पतालमा आउने गरेका छन् ।

गाईघाट शिवशक्ति मेडिकलका सञ्चालक जीतेन्द्रकुमार महतोले भाइरलबाट सङ्क्रमितहरु दैनिक दुई दर्जनसम्म आफ्नो क्लिनिकमा उपचारका लागि आउने गरेको बताए ।

भाइरल ज्वरोको प्रकोप फैलिँदै गएपछि अहिले नगरपालिकाको गाईघाट, बोक्से, जलजले, मोतिगडा, भुल्के, खैजनपुर, बगाहा, जोगिदह, पोर्ताह, लक्ष्मीपुर, राजाबास, चुहाडे क्षेत्र उच्च जोखिममा छ ।
त्रियुगा नगरपालिकामा साउन १ गतेदेखि डेङ्गुको प्रकोप फैलन सुरु गरेको थियो । हालसम्म नगरपालिका क्षेत्रमा मात्र झन्डै चार सय ५० भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका छन् । त्रियुगामा झन्डै तीन हजार बढी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएका छन् ।

डेङ्गु र आँखा पाक्ने रोगबाट नागरिक बिरामी परिरहेको बेला भाइरल ज्वरोले थप समस्या गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार