मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश
विराटनगर : कोशी प्रदेश सरकारले आगामी भदौ १० गतेभित्र बजेट अध्यादेश पास गर्नुपर्ने छ । यात प्रतिस्थापन विधेयक ल्याएर भएपनि बजेट पास गरेर प्रदेशको आर्थिक गतिबिधिलाई चलायमान बनाउनुपर्ने कानुनी बाध्यता छ ।
साथै यो गठबन्धनको सरकारले भदौ १५ भित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यो राजनीतिक जटिलताको भुमरीमा फसिरहेको प्रदेश सरकार दुखले ४७ सांसद पुर्याएर बनेको हो ।
गत मंसिर ४ गतेको चुनावको गठबन्धनलाई आधार बनाएर अगाडि बढ्दा गठबन्धनको सरकार धरापमा परिरहेको छ । चाहे त्यो एमाले होस्, चाहे कांग्रेस । यो जटिलताबीच प्रदेश सरकारका विषयमा अनेकन प्रश्नहरु आइरहेका छन् । पछिल्लो समयमा प्रदेशमा सांसद खरिदबिक्रीको हल्ला बेजोड रुपमा चलेको छ ।
नेकपा एमालेका नेता हिक्मत कार्कीको सरकारले विश्वासको मत प्राप्त गर्ने बेलामा माओवादी र नेकपा एस जस्ता पार्टीहरुका सांसदका विषयमा बजार हल्ला व्यापक चल्यो । दलका नेताहरुको भेटघाट र शंकास्पद गतिविधिले खरिदबिक्री र लोभ लालचको विषयलाई मलजल गरिरह्यो । अन्ततः एमालेले यस्ता हल्लाका बीच पनि एक मत बढाउन नसक्दा प्रदेश सरकारबाट बाहिरिनुपर्यो ।
फेरि प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट बनेको असंवैधानिक सरकार बर्खास्तीमा पर्यो । र पुनः गौतमले राजीनामा दिएपछि ४७ जनाको बहु्मत पुर्याएर नेपाली कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री भए । अब उनले बजेट पास गर्ने र विश्वासको मत लिने बेलामा पनि सांसद खरिदबिक्री र लोभ लालचको हल्ला चलेको छ । कांग्रेसले एमालेका सांसदलाई तार्गेट गरेको हल्ला छ ।
नेकपा एमालेका संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारी यस्तो हल्ला चल्नु गलत भएको बताउँछन् । संसदीय अभ्यासमा यस्तो हल्लाले राम्रो सन्देश नदिने उनको भनाइ छ । विश्वासको मत लिने बेलामा आफ्ना धेरै सांसदहरु अनुपस्थिति हुने जानकारी दिँदै उनले भने, ‘यसबाट नै उनीहरुको त्यो दाउलाई हामी चिरिदिन्छौं र एमालेका सांसदले त्यस्तो कुनै काम गर्दैनन् ।’
अघिल्लो कार्याकालमा माओवादीबाट सांसद भएका टंक आङ्बुहाङ लिम्बू नेकपा एमालेमा प्रवेश गरेर ६ महिने मन्त्री भएको घटनाले पनि कोशी प्रदेशमा यस्तो हल्लालाई मलजल पुगेको छ ।
अघिल्लो कार्यकालमा गण्डकी, लुम्बीनी लगायतमा सांसदहरुले राजीनामा दिने र राजीनामापछि मन्त्री र सल्लाहकार हुने प्रवृत्तिले पनि प्रदेशमा विकृतिहरु फैलिन थालेका छन् । प्रदेशको सांसदहरुको अंकगणितले पनि त्यसलाई मलजल गरेको छ ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की अहिले पनि आफूहरुको मानसपटलमा २०५२ देखि ०५६ सम्म केन्द्रमा चलेको सांसद खरिदबिक्री र विदेश लैजाने प्रवृत्तिको झल्को रहेकाले यो कठिन अंकगणितमा हल्ला चलेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो प्रदेशमा सांसदहरु खरिदबिक्री हुन्छन् जस्तो मलाई लाग्दैन् ।’
नेकपा माओवादीका एक जना सांसद हिक्मत कार्की मुख्यमन्त्री हुँदा पनि प्रयत्न भएको र अहिलेपनि यस्ता खालका प्रयत्नहरु भइरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘पैसाको मोलतोल थाहा छैन् तर दुवै तर्फबाट सांसदमाथि कुनै न कुनै रुपमा लालच देखाउने काम भइरहेको छ ।’
प्रदेशमा जम्मा ९३ जना सांसद छन् । जसमध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी १३, राप्रपा ६, नेकपा एस ४ र जसपाका एक सांसद छन् । अहिले थापाको नेतृत्वमा ४७ जना सांसद एकातिर र एमालेको गठबन्धनमा राप्रपासहित ४६ सांसद छन् ।