क्रमशः बाबुराम गौतम, प्रदीप सुनुवार र कमलप्रसाद जगेवु
विराटनगर : नेकपा माओवादी केन्द्रको आन्तरिक विवादका कारण रोकिएको कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज साँझ ५ बजे प्रदेश प्रमुख परशुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिँदै छन् ।
यसअघि माओवादीभित्र को मन्त्री बन्ने भन्ने विषयमा विवाद हुँदा मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको शपथ बेलुकालाई सारिएको छ । बुधबार बिहान साढे १० बजे शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहँदा गठबन्धन दलहरुको आग्रहमा समय सारिएको हो ।
मुख्यमन्त्री थापाले पहिलो चरणमा जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट ११ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिने तयारी गरेका छन् ।
थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई अर्थमन्त्री बनाउने सहमति भएको छ । मंगलबार थापालाई मुख्यमन्त्री बनाउन गौतमले सभामुखबाट राजीनामा दिएर बहुमत पुर्याउन सहयोग गरेका थिए ।
थापा निकट स्रोतका अनुसार माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउँदा एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । उनी यसअघि थापाको क्याबिनेटमा विनाविभागीय मन्त्री थिए ।
सर्वोच्चले बदर गरिदिएको थापाको सरकारको विनाविभागीय मन्त्री तथा प्रवक्ता रहेका कांग्रेसका प्रदीप सुनुवार पनि मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।
चार सदस्सीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिने तयारी गरेका थापाले विश्वासको मत लिएपछि मात्रै अन्य मन्त्री थप गर्ने तयारी गरेको बताइएको छ ।