विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकार टिकाउने र बनाउने खेलमा सभामुखलाई राजीनामा गर्न लगाउनु जालझेल भएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताए ।
उक्त कदमले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाने उनको भनाइ छ । ‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’
यस्तै उनले प्रदेशको स्थायित्वको लागि एमाले र नेपाली कांग्रेस मिलेर कोशी प्रदेश सरकार बनाउन सुझाव पनि दिएका छन् ।