विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।
बिहीबार सर्वोच्च अदालतले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सभामुखको कदम असंवैधानिक भएको भन्दै थापाको नियुक्ति बदर गरिदिएको छ ।
त्यसबेला सभामुख गौतमले सरकारविहीन नहोस् भनेर हस्ताक्षर गरेको बताउँदै शर्माले अहिले सरकार बनाउन सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘अस्थिरता नहोस् भनेर उहाँले त्यतिबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा दिनुपर्छ ।’
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेसम्मका लागि समय दिएका छन् । सो अवधिमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्नुपर्नेछ । यदि सभामुखले राजीनामा दिए गठबन्धन दलसँग ४७ सांसद पुग्नेछ । यो सरकार बनाउन बहुमत पुग्ने संख्या हो ।
यदि उक्त अवधिमा कुनै दलले बहुमत पुर्याउन सकेनन् भने संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।