विराटनगर : कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीका रुपमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको पुनर्वहाली भएका छन् ।
सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले आज दिउँसो कार्यभार सम्हाल्ने भएका हुन् । अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्री पुनर्वहाली हुनेछन् ।
काठमाडौंमा रहेका कार्की केहीबेरमा विराटनगर आउँदै छन् । विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गरेर कार्कीले विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर जिम्मेवारी सम्हाल्ने भएका छन्।
कार्कीको पुनर्वहालीसँगै उनको सरकारका मन्त्रीहरूले पनि शुक्रबारदेखि नै मन्त्रालय सम्हाल्ने भएका छन्।
कार्की मुख्यमन्त्री रहँदा सामाजिक विकास मन्त्री रहेका बुद्धिकुमार राजभण्डारीले शुक्रबार आफूहरू मन्त्रालय जाने तयारीमा रहेको पूर्वेलीप्रेसलाई जानकारी दिए ।
कार्कीले माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मन्त्रीहरुलाई जिम्मेवारी थप गरेका थिए । राजभण्डारी पर्यटन, वन तथा वातावरण मन्त्री पनि हुन् ।
यस्तै एमालेका तिलकुमार मेन्याङ्बो सिँचाइ र स्वास्थ्य मन्त्री थिए भने राष्ट्रिय प्रजातान्त्र पार्टी दलका नेता भक्ति सिटौलाले कृषि र पूर्वाधार मन्त्रालय सम्हालेका थिए। तीनै जनाले आज दिउँसो कार्यभार सम्हाल्दै छन् ।