विराटनगर : पछिल्लो समय सुनसरीको धरानमा डेंगु संक्रमणबाट बिरामी पर्नेको संख्या बढ्दै गएको छ । जसअनुसार पछिल्लो तीन महिनामा धरानमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा डेङ्गु सङ्क्रमणको दर बढ्दै गएको छ । सर्वसाधारणको ज्यान जाने गरी महामारीको रुपमा फैलिएको डेंगु रोगको संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकारले चासो भने देखाएका छैनन् । समयमै डेंगु नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या वृद्धि भएको छ ।
धरानमा हालसम्म ५ हजार बढि सर्वसाधारणलाई डेंग संक्रमण देखा परेको छ । धेरैजसो संक्रमितहरू निको भइसकेका छन् । दैनिक डेंगु संक्रमित हुनेको संख्या पनि दुई सय बढि रहेको छ ।
डेंगुका चार प्रकारमध्ये क्लासिक सामान्य र मृत्युको सम्भावना कम हुने धेरै अवस्थामा आफंैँ निको पनि हुन्छ । चिकित्सकका अनुसार एकपटक सामान्य लक्षण देखिएर निको भए पनि दोस्रोपटक संक्रमण हुँदा डेंगु ह्यामरेजिक सक सिम्ड्रोमको अवस्था देखिन सक्छ । डेंगु ह्यामरिङ, डेंगु सक सिम्ड्रममा समयमै उपचार नगरे मृत्यु हुने सम्भावना बढी हुन्छ । संसारमा डेंगु संक्रमण भएका १० प्रतिशत मानिसमा ह्याम्रेज र सकको अवस्थामा पुग्छन् ।
सावधानी
डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा टोकाइबाट बच्ने
सफा पानी पनि छोपेर राख्ने
खुला ठाउँमा पानी जम्न नदिने
झ्याल ढोकामा तारको जाली लगाउने
बिरामीलाई कम्तीमा पनि ५ दिनसम्म अलग्याएर राख्ने
घर तथा छिमेकमा लक्षण देखिए स्वास्थ्य संस्थामा खबर गर्ने गर्नुपर्छ ।
डेंगुको अवस्था र लक्षण
डेंगु फिबरमा
उच्च ज्वरो
टाउको दुख्नु
आँखाको गेडी दुख्नु
जोर्नीहरु दुख्नु
फ्लुजस्तो लक्षण देखिनु ।
डेंगु सक सिन्ड्रोमका लक्षण
पेट दुख्नु, नाक, गिँजा तथा आन्द्राबाट रक्तश्राव हुनु
छालामा राता टाटा देखिनु, लगातार वान्ता हुनु,
वान्तामा रगत देखिनु, कालो दिसा हुनु, अत्यधिक तिर्खा लाग्नु
कमजोरी महसुस हुनु ।