विराटनगर : उदयपुरको चौदण्डीगढी नगरपालिकामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको उक्त स्वास्थ्य चौकी भवनको नगरप्रमुख कालुमान तामाङ र उपप्रमुख मणिकादेवी दुलालले उद्घाटन गरेका हुन् ।
७९ लाख ९६ हजार ७ सय ३५ रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवनको निर्माण भएको वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिए ।
झण्डै ३ कठ्ठा क्षेत्रफलमा बनेको स्वास्थ्य चौकी भवनमा औषधि (फार्मेसी) कक्ष, बिरामी जाँच, ड्रेसिङ, गर्भवती जाँच, प्रयोगशाला, कार्यालय प्रमुख कक्ष, कर्मचारी कक्ष, बिरामी करुवाका अलग–अलग कक्षहरुसहित रहेका छन्।
चालु आर्थिक वर्षदेखि एमबिबिएस चिकित्सकको सेवा सुचारु गर्ने गरी भवन निर्माण गरिएको वडाध्यक्ष राउतले बताए। चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको उनको भनाई छ।