विराटनगर : पुस १२ गते नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका इन्द्रबहादुर आङ्बोले ६ महिना बितिसक्दा पनि अन्य जिम्मेवारी बाँडफाँड गरेका छैनन् ।
दलको नेता चयन भएको ६ महिना पुग्दा पनि उनले संसदीय दलमा अरुलाई जिम्मेवारी नदिएपछि आङ्बोले एकलौटी दल चलाएको आरोप लाग्न थालेको छ ।
माओवादीबाहेक प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत साजवादीले संसदीय दलका जिम्मेवारी बाँडफाँड गरीसकेका छन् । तर, माओवादी संसदीय दल उनले एकल ढंगले चलाएको माओवादी सांसदहरुले आरोप लगाएका छन् ।
त्यसबेला संसदीय दलको नेतामा आकाङ्क्षी रहेका दुर्गाप्रसाद चापागाईंले नै आङ्बोलाई समर्थन गरेका थिए । अन्तिम समयसम्म दलको नेतामा दाबी नछाडेपनि चापागाईंलाई सरकारको नेतृत्व दिने शर्तमा ब्याक गराइएको थियो । तत्काली नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गर्दै चापागाईं भौतिक पूर्वाधार मन्त्री भएका थिए ।
संसदीय दलका नेताका कारण अन्य जिम्मेवारी बाँडफाँड हुन नसकेको चापागाईंले बताए । उनले भने, ‘सबै उहाँ नै हो, नेता, उपनेता, प्रमुख सचेतक र सचेतक सबै उहाँ हो ।’
आङ्बोप्रति व्यांग गर्दै चापागाईंले भने, ‘चारै पदक लागि दलका नेता नै सक्षम भएर बाँडफाँड हुन नसकेको हो ।’
नेतृत्वप्रति असन्तुष्ट रहेका अर्का माओवादी सांसद भन्छन्, ‘हाम्रो दलका नेता खै के स्वार्थमा हुनुहुन्छ र अहिलेसम्म सबै पद ओगटेर बस्नुभएको हो हामीलाई नै थाहा छन् ।’ उनले आङ्बो गुटगत राजनीतिमा लागेकाले आफ्नो गुट बलियो बनाउन र अरुलाई जसरी पनि डाउन गर्ने काममा लागेको आरोप लगाए ।
यस्तै माओवादी प्रदेश समितिका सचिवसमेत रहेका प्रदेशसभा सदस्य गणेश उप्रेतीले सरकारले विश्वासको मत लिएर पूर्ण मन्त्रीमण्डल विस्तार गरिसकेपछि सबै टुंगो लाग्ने बताए । सरकार र गठबन्धनमा आएका फेरबदलका कारण केही ढिला भएको उनको तर्क छ ।
यता, आङ्बोलाई तपाईले ६ महिना बितिसक्दा पनि किन संसदीय दलमा अन्य जिम्मेवारी बाँडफाँड गर्न नसकेको भन्ने प्रश्न गर्दा आफ्ना सांसदहरुलाई यसको उत्तर आफैँ दिन्छु भन्दै तर्किन खोजे । आङ्बोले भने, ‘म आफ्ना सांसदलाई आफै भन्छु नि, अनलाइनमा भनिरहनु पर्छ र ।’
त्यसो त आङ्बो पार्टीबाट सरकारमा मन्त्री पठाउने बेलामा पनि एकलौटी गर्नृे गरेको माओवादी सांसदहरु बताउँछन् । उनै आङ्बोका कारण उदयपुरबाट निर्वाचित सांसद नारायण बुर्जा मगरले पदबाट राजीनामा दिने सम्मको धम्की दिएका छन् । संसदीय दलको बैठकले बुर्जा मगरलाई मन्त्री बनाउने सहमति गरेपनि आङ्बोले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् । मगरले पार्टीमा आफ्नो न्यायोचित मुल्यांकन नभएको भन्दै मतदातासँग परामर्श गरेर प्रदेशसभा सदस्यबाट राजीनामा दिने मनसाय बनाएको बताएका छन् ।