Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वसहमति तोडेर मन्त्री नियुक्त गर्न लागिएको भन्दै कोशीमा नेकपा एसको आपत्ति



विराटनगर : कोशी प्रदेशमा गठबन्धनको सरकार बनेको केही दिनमै दलहरुबीच खटपट सुरु भएको छ । प्रदेशमा मन्त्रीपरिषद् विस्तारका विषयलाई लिएर दलहरुबीच विवाद देखिएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबीच भएको पूर्वसहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

गठबन्धन दलहरुबीच एकएक जना मात्रै मन्त्री बनाउने सहमति भएपनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेका नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए ।

पूर्वेलीप्रेससँग कुराकानी गर्दै उनले भने, ‘हामीले सबै दलबाट एकएक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ । तर, त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गर्नुभयो । यसमा हाम्रो आपत्ति छ ।’

उनले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् । ‘यस्तै गरिरहने हो भने हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिदैनौ ।’

यस्तै उनले मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम पनि बहिष्कार गरेका छन् ।

आज विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बन्दैछन्। कांग्रेसबाट रामकुमार खत्री पनि मन्त्री बन्दैछन् ।

शुक्रबार मुख्यमन्त्रीको शपथ लिएर थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबुलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार