फाइल तस्बिर : जीवन आचार्य
विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा जीवन आचार्यलाई मन्त्री पठाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गर्दा को मन्त्री हुने भन्ने विवाद उत्कर्षमा पुग्दा शुक्रबार कोही पनि मन्त्री हुन सकेनन् ।
माओवादीबाट मन्त्री नाम नआएपछि मुख्यमन्त्रीले शपथ लिएर कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबुलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
पूराना मन्त्री जीवन आचार्य र दुर्गा चापागाईंलाई पठाउने कि नयाँलाई पठाउने भन्ने विवाद सिर्जना भएपछि माओवादीले कुनै मन्त्रीको नाम टुंग्याउन सकेको थिएन ।
आचार्य भने बिहानै मन्त्री हुने र शपथ लिने तयारीमा बसेका थिए । तर, कसलाई पठाउने भन्ने निर्णय नहुँदा उनको शपथ ग्रहण रोकिएको थियोे ।
शुक्रबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले आचार्यलाई सरकारमा पठाउने सहमति गरेको हो । बाँकी मन्त्रीको नाम छनोटका लागि संसदीय दलका नेता, प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।
आचार्य यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री थिए । उनी प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइ हुन् ।