विराटनगर : कोशी प्रदेशमा असंवैधानिक तरिकाले सभामुखको हस्ताक्षर प्रयोग गरेरका सरकार गठन भएको भन्दै विराटनगरमा प्रदर्शन भएको छ । शुक्रबार विराटनगरको देवकोटा चौकमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले संयुक्त प्रदर्शन गरेका हुन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले दलको सदस्यको हैसियतमा हस्ताक्षर गरेको र प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध गरिएको अनेरास्ववियु मोरङका नेता नवीन पहाडीले बताए ।
सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने भए पनि सरकार बनाउन सहयोग गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
संविधानका विज्ञहरुले मात्रै होइन कांग्रेसका नेता डा. शेखर कोइराला, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि माओवादीकै नेताहरुले पनि सभामुखको हस्ताक्षरप्रति आपत्ति जनाइरहेका छन् ।
उक्त विषयलाई लिएर एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।