विराटनगर : कोशी प्रदेशमा मुख्यमन्त्री दाबी गर्न गठबन्धनले सभामुख बाबुराम गौतमले हस्ताक्षर प्रयोग गरेपछि त्यसको विरुद्धमा एमाले र राप्रपा अदालत जाने भएका छन् ।
बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा २९ सिट भएको कांग्रेस, सभामुखसहित १३ सिट भएको माओवादी, ४ सिट भएको एकीकृत समाजवादी र १ जना सांसद भएको जसपा दलका नेताहरूले समर्थनमा हस्ताक्षर गरेका थिए । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले दलको सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि त्यसलाई रोक्न एमाले र राप्रपाले मुद्धा दर्ता गर्न लागेको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुखले नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक बाटोबाट मुख्यमन्त्री नियुक्त गरेको एमालेको आरोप छ । प्रदेश प्रमुखले असंवैधानिक रूपमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको र यो नियुक्त खारेजी गर्न माग राख्दै अदालत जान लागेको एमाले कोशी प्रदेश संसदीय दलका उप नेता राम राना मगरले बताए ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा हिक्मत कार्कीको तर्फबाट रिट निवेदन हाल्ने तयारी भएको मगरले बताए ।
राप्रपा कोशी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले गठबन्धनले संविधानविपरीत काम गरेको भन्दै अदालत जाने तयारी भएको जानकारी दिए।