विराटनगर : कोशी प्रदेशको भावी मुख्यमन्त्रीमा नेपाली कांग्रेसले संसदीय दलका नेतासमेत रहेका उद्धव थापालाई अघि सोर्न निर्णय गरेको छ । आइतरबार बसेको कांग्रेस कोशी प्रदेश कार्यसमितिको बैठकले थापालाई गठबन्धनका तर्फबाट प्रदेशको भावी मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएसँगै नयाँ सरकार गठनको दौडधुप सुरु भएको छ । गत पुस २५ मा संविधानको धारा १६८ को उपधारा (२) को अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर, माओवादी र जसपाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।
सरकार ढलेको तीन दिनपछि आइतबार साँझ प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।
नयाँ सरकारको नेतृत्वको विषयमा चर्चा चलिरहेको बेला कांग्रेसले आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
गठबन्धनको ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए । गठबन्धनका अन्य दलहरुसँग बैठक बसेर चाँडै सरकार गठनको तयारी गर्ने उनले सुनाए ।
यता, गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै आएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने दौडमा छन् । आङ्बोले आफ्नो दाबी स्वभाविक भएपनि सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रले गरेको निर्णय पालना गर्ने बताए ।
९३ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनसँग कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ सांसद छन् । प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् । एक जना प्रदेशसभा सदस्य रहेको जसपाले तटस्थ बस्ने निर्णय गरेको छ ।