Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हिक्मत कार्कीले आज विश्वासको मत लिने, जोगिएला त मुख्यमन्त्री पद ?



विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने भएका छन् ।

बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दलहरुले भने बिहीबार रातिनै टुंगो लगाउनुपर्ने माग राख्दै सभामुखको कक्षमा बसेर अड्डी कसेका थिए । सभामुखले भने सहमतिको पहल गरेपनि पार नलागेपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरे ।

मुख्यमन्त्रीले विश्वासको मत मागेपछि भएको छलफलका क्रममा राप्रपा मात्रै मुख्यमन्त्रीको पक्षमा उभिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी विश्वासको मतको विपक्षमा उभिएका छन् । निर्णायक मत रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ ।

अहिलेको अवस्थामा मुख्यमन्त्रीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । हिक्मत कार्कीलाई पद जोगाउन एक सांसद अपुग छ । यस्तो अवस्थामा तटस्थ बसेको जसपाले मात्रै पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने हो भने सरकारले निरन्तरता पाउनेछ ।

यदि यो सरकार ढल्ने अवस्था आए कोशीमा अर्को सरकार बन्न पनि त्यति सहज छैन् । प्रदेशमा कांग्रेसका २९, सभामुखसहित माओवादीका १३ र नेकपा एसका ४ सांसद गरी ४६ जना छन् । तर, सभामुखले मत विभाजनमा भाग लिन नपाउने र जसपाले पनि साथ नदिँदा विपक्षी गठबन्धनमा ४५ जना छन् ।

प्रदेशका संसदीय अंकगणित फरक परिस्थितिको भएका कारण सरकारले विश्वासको मत जुटाउन प्रयास गरिरहेको एमाले स्रोतले बताएको छ । एमालेका एक नेताका अनुसार निर्णायक मत बोकेर बसेको जसपालाई फकाउन अन्तिम कसरत भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार