Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभाको बैठक स्थगित हुँदा विपक्षी झस्किए



विराटनगर : कोशी प्रदेशसभामा विश्वासको मत आज लिने कि भोलि भन्ने विवाद भएपछि अन्ततः शुक्रबार ११ बजे सभाको बैठक बस्नेगरी टुंगिएको छ । प्रदेशसभामा विश्वासको मत लिन अपराह्न ५ः२० मा स्थगित भएको बैठक राति साँढे ९ स्थगित भयो ।

८ बजेदेखि सुरु गर्ने भने पनि बैठक बसेन । नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक बस्ने विषयमा विवाद भएको थियो ।

विपक्षी दलहरुले भने बिहीबार रातिनै टुंगो लगाउनुपर्ने माग राख्दै सभामुखको कक्षमा बसेर अड्डी कसेका थिए । सभामुखले भने सहमतिको पहल गरेपनि पार नलागेपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरे ।

अपराह्न के भयो ?
विश्वासको मत मागेपछि प्रदेशसभामा दलका नेताहले बोले । दलका नेताले बोलेपछि ५ः३० बजे बैठक स्थगित भयो । बैठक स्थगित भएपछि छलफलमा उठेको विषयको तयारी गर्नुपर्ने भन्दै प्रदेशसभाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की बाहिरिए । लगत्तै मन्त्रीहरु पनि बाहिरिएपछि उनले मन्त्रीहरु र दलका केही नेतासँग सरसल्लाह गरेर शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न प्रमुख सचेतक रेवतीरमण भण्डारीमार्फत पहल गरे ।

यतिन्जेलसम्ममा धेरै जसो सांसद घरतिर लागे भने मन्त्रीहरु क्वाटरमा आराम गर्न थाले । तर, एक मतको अंकगणितबाट झस्किएका विपक्षी दलले भने मुख्यमन्त्री आएर संसद चलाउनुपर्ने माग गर्दै सभामुखको कार्यकक्षमा अड्डी लिइरहे । सहमतिको प्रयास गरेका सभामुखले सहमति नभएपछि शुक्रबार सम्मका लागि बैठक स्थगित गरेका थिए ।

कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीनै एकाएक नआएपछि स्थिति सहज नभएको बताए । उनले यसरी प्रक्रियालाई अवरुद्ध पोर्न काम गलत भएको तर्क गरे । रात रहे अग्राख पलाए भनेझैँ विपक्षी गठबन्धनका नेताहरु भने संसद स्थगित भएपछि झस्किएका छन् । उनीहरु रातभरमा कुनै खेल त हुने होइन् भनेर झस्किएका हुन् । रातभरमा आफ्नो सांसद चोरी हुने त होइनन् अथवा गठबन्धनको कुनै दलले सहमति गर्ने त होइन भन्नेमा झस्किएको गठबन्धन दलका एक सांसदले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार