Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले सच्चिए विश्वासको मत मात्र होइन, पार्टी एकतानै गर्छौ : राजेन्द्र राई



विराटनगर : नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले एमाले सच्चिए आफूहरु वर्तमान सरकारलाई विश्वासको मत दिन तयार रहेको बताएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै राईले एमालेले आफूहरुलाई नचाहिँदा वेवास्ता गर्ने र चाहिँदा मात्रै खोज्ने गरेको बताए ।

उनले भने, ‘एमालेले कमिकमजोरी सच्याएर जान खोजे समर्थन गर्न तयार छौँ । तर, सच्चिनु पर्यो हामी एमालेसँग पार्टी एकतानै गर्न तयार छौँ ।’

एमाले संविधानको खिलापमा पटकपटक उत्रिएका कारण र आफूहरु लक्षित गरी निरन्तर प्रहार गरिरहँदा विश्वासको मत दिन नसक्ने उनले बताए । एमालेकै कारण अहिले विश्वासको मत दिन नसक्ने उनले बताए ।

कोशी प्रदेशसभामा राइले एमालेका विषयमा राखेको धारणाः

सरकारलाई समर्थन नगरी प्रतिपक्षीमा बस्नुको कारण, एमाले संविधानको पटक पटक खिलापमा उत्रियो, परिवर्तनलाई प्रतिगमनमा धकल्न खोज्यो भनेका थियौं। अहिलेपनि अध्यादेश, त्यसबाट बजेटको कुरा गर्दा अध्यादेशबाट बजेट ल्याउन कहिँ कतै काम छैन। संविधानलाई कागजको खोस्टो बनाउने कोसिस एमालेले गरिरहेको छ त्यसले गर्दा समर्थन गर्न सकिने अवस्था छैन। 

वास्तवमा हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ। त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ। त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन। बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्, त्यो पार्टी छाड्न मनै थिएन। हामीलाई निकालेर, पिना पनि पेलेर तेल निकाल्न खोजेको हो। अहिले पनि यो सरकार आइसकेपछि हाम्रा नियुक्त कानुनविपरित ढंगले धमाधम हटायो। अदालतले फिर्ता बोलायो। यहाँ ४ जना छौं बाटो हिँड्दा पनि बाटो छेकेर गमक्क परेर बाटो छेकुँला जस्तो व्यवहार छ। हाम्रो समर्थन एमालेले खोज्ने होइन, यो भोट चाहिएको बेला भोटे माया हरर जागेर आउँछ र हामी फेरि पनि मिल्ने भन्ने सम्मका कुरा आउँछ। अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं। हैन गल्ती नसच्याउने हो भने चाहीँ त्यो समर्थन कसरी गर्न सकिन्छ त मुख्यमन्त्रीज्यू?

प्रतिक्रिया
सम्बन्धित समाचार