विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले आज दिउँसो १ बजे प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छन् ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । ९३ सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । अहिले उनीसँग एमाले र राप्रपाका ४६ सांसदको समर्थन छ ।