Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा सरकार जोगाउन एमालेले सबै दलसँग विश्वासको मत माग्ने



एमाले कोशी प्रदेश संसदीय दलको बैठक, फाइल तस्बिर

विराटनगर : अल्पमतमा रहेको कोशी प्रदेश सरकार टिकाइराख्न नेकपा एमालेले प्रदेशसभामा रहेका सबै दलहरुलाई विश्वासको मत दिन आग्रह गर्ने भएको छ । बुधबार दिउँसो बसेको नेकपा एमाले संसदीय दलको बैठकले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन सबै राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको हो ।

प्रदेशको औचित्य बाचयराख्न र प्रदेशलाई स्थापित गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । एमालेले दलहरूले नै निर्णय गरेर सरकारलाई मत दिने वातावरण बनाउने बारेमा छलफल बैठकमा बृहत् छलफल भएको उनले बताए ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाल मुख्यमन्त्रीको पक्षमा ४६ सांसद छन् । तर, कोशीमा सरकार बनाउन ४७ सांसद चाहिन्छ ।

सरकार टिकाइराख्न एक जना सांसद अपुग रहेकाले विभिन्न सम्भावनाहरूको बारेमा बैठकमा खोजी गरिएको भण्डारीले जानकारी दिए ।

विपक्षीमा रहेका दलहरुसँग पनि स्पष्ट बहुमत नभएकाले साझा सरकार बनाएर जाने विषयमा पनि छलफल भइरहेको उनले बताए । उता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एसका ४ र जसपाका एक सांसद छन् । माओवादीका बाबुराम गौतम सभामुख भएकाले कोशी प्रदेशमा दुवै गठबन्धनमा ४६/४६ सांसद छन् । सरकार बनाउन दुवैतिर मुस्किल छ ।

भण्डारीले नेपाली कांग्रेस लगायतका दलहरुसँग साझा सरकार बनाउने विषयमा छलफल भएको बताए । कुनै दलको सांसद चोर्ने भन्दा पनि दलहरूले नै निर्णय गरेर आउने वातावरण बनाउने बारेमा छलफल भएको उनको भनाइ छ ।

भोलि (बिहीबार) बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै छन् । कार्कीले बिहीबार नै विश्वासको मत लिने बताएका छन् ।

अहिले आफ्नो पक्षमा ४६ सांसद रहेको बताउँदै कार्कीले भोलिसम्ममा अन्य दलहरू मध्ये कोही विश्वासको मत दिन तयार हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार