Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश : विश्वासको मतबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्ने



एमाले कोशी प्रदेश संसदीय दलको बैठक, फाइल तस्बिर

विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक आज दिउँँसो बस्दैछ ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा रहेको सरकारले कसरी विश्वासको मत जुटाउने भन्ने विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी दिए ।

गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट नेकपा माओवादी र जनता समाजवादी पार्टी बाहिरिएसँगै कार्कीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । सम्भवत् भोलि (असार १४) बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने छन् ।

भण्डारीले विश्वासको मत जुटाउन के गर्ने भन्ने विषयमा पार्टीका सांसदहरुसँग छलफल हुने बताए । ‘हामीले विश्वासको मत माग्ने हो । प्राप्त भए प्रदेशसभा र सरकार नियमित कार्यसूची अनुसार अगाडि बढ्छ । विश्वासको मत प्राप्त भएन भने स्वभाविक ढंगले सरकारले अधिवेशन अन्त्य गर्ने र मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ,’ भण्डारीले भने ।

९३ प्रदेशसभा सदस्यमा अहिलेकै अवस्थामा सत्तापक्षतर्फ एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । विपक्षी गठबन्धनमा सभामुखसहित माओवादीका १३, कांग्रेसका २९, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सदस्य छन् । तर, सभामुख निर्णायक मतका लागि मात्र मतदानमा सहभागी हुने भएकाले दुवै गठबन्धनलाई सरकार बनाउन असहज छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार