Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तुलसी सहकारीका अध्यक्ष केदार शर्मा भारतबाट पक्राउ



विराटनगर : बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्मालाई सिआइवीको टोलीले भारतबाट पक्राउ गरेको हो ।

विराटनगर – ३ मा मुख्य कार्यालय रहेका सहकारीका अध्यक्ष शर्मालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । उनले वचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पनि पूर्वअध्यक्ष हुन् । शिव शिखरका निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको अर्को आरोप पनि उनलाई लागेको छ ।

आफूहरुले सहकारीमा बचत गरेको पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीका अध्यक्ष शर्मासहित ८ जना संचालकविरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दर्ता गराएको थियो । शर्मा फरार थिए । ठगी मुद्दामा पक्राउ परेका प्रबन्धक मन्दिप खवाससहित सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपाने अहिले पुर्पक्षको लागि थुनामा छन् ।

तुलसी सहकारीले विराटनगर शाखाबाट मात्र ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेखछ । शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो ।

उनीद्धारा संचालित निजी खाद्यन्य, मोटर, इलेक्ट्रिक, चिउँरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार