Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा बाढीपहिरो वितण्डा : मृतकको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता



विराटनगर : कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोबाट हालसम्म ८ जनाको मृत्यु भएको छ । शनिबार रातिदेखि परेको लगातार वर्षाका कारण आएको बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार शनिबारयता बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै धनकुटामास्थित तमोर नदीमा पाँचथरकी २५ वर्षीया एलिसा माझीको शव फेला परेको छ ।

बाढीपहिरोमा परी ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर र संखुवासभामा एक÷एकजनाको मृत्यु भएको छ । तीमध्ये पाँचजना पहिरो र दुई जनाको बाढीले बगाएर मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा भोजपुरको ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथरको फालेलुङ–४ का आठ वर्षीया जुना साउदेन, पाँचथरकै फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् ।

यस्तै पाँचथरको याङवरक १ फेदीगाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको हो ।

आइतबार कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो, प्रदेश सदस्य विदुर लिङ्थेप, सेनाका पृतनापति आशबहादुर तामाङ, सशस्त्रका डीआईजी अन्जनी पोखरेललगायतले हेलिकोप्टरबाट प्रभावित क्षेत्र निरीक्षण गरेका थिए ।

अहिले बाढीपहिरोमा परी उद्धार गर्न नसकेर फसेकाहरुलाई हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल नेतृत्वको टोलीे सङ्खुवासभा र ताप्लेजुङ आउने तयारी गरेका छन् ।

टोली सङ्खुवासभाको तुम्लिङटार विमान स्थलमा हेलिकोप्टरमार्फत् सोमबार बिहान साढे ११ बजे पुग्ने समय तय भए पनि एक घण्टा ढिला गरी त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अनुगमन टोलीमा उपप्रधान एवम् गृहमन्त्री नारायण काजी श्रेष्ठ, अन्य मन्त्रालयका मन्त्रीहरु, सङ्घीय सांसद योगेशकुमार भट्टराईलगायतका नेता तथा सांसदहरु हेलिकोप्टरमार्फत आउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार