विराटनगर : कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आएको समूहले प्रेदश सरकारसँग वार्ता गर्नका लागि वार्ता समिति बनाएको छ । आइतबार प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएको हो ।
आन्दोलनरत पक्ष र सरकारबीच सोमबार वार्ता हुने भएको छ । विराटनगरको बिग होटलमा वार्ताको तयारी भएको बताइएको छ ।
पहिचान पक्षधरले गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेको वार्ता टोली बनाएको छ । उनीहरु आन्दोलनमा सहभागी विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि हुन् ।
यता, कोशी प्रदेश सरकारले पनि सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता टोली बनाइसकेको छ । उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सरकार पक्षबाट वार्ता समितिको सदस्य छन् ।
फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।