विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो ।
गत शुक्रबार उनलाई परिवारले गर्भपतन गराउन भन्दै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरेका थिए । अस्पतालका अनुसार भर्ना गराउँदा कल्पनाको अत्यधिक रक्तश्राव भइरहेको थियो ,
आकस्मिक कक्षमा भर्ना भएकी महिलाको अवस्था गम्भीर रहेकाले सुविधासम्पन्न अस्पतालमा लैजान परिवारलाई आग्रह गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले जानकारी दिए । तर, परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ ।
अत्यधिक रक्तश्राव भइरहेकाले गर्भभित्रको बच्चा निकाल्न शल्यक्रिया गर्दा पनि रक्तश्राव नरोकिएको उनले बताए । बिरामीको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो ।
अस्पतालले रेफर गरिदिएपछि परिवारका सदस्यले शनिबार राति १२ बजेतिर कल्पनालाई धरान लगेका थिए । उनको उपचारको क्रममा आइतबार बिहान ३ः४० बजेतिर महिलाको मृत्यु भएको जनाइएको छ ।
उपचारको क्रममा कल्पानाको मृत्यु भएपछि उनको शव परिवार र आफन्तले मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर प्रदर्शन गरिरहेका छन् । चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै नाराबाजी र प्रदर्शन गरिरहेका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका छन् ।