Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा बाढी पहिरोमा परी एकको मृत्यु, २५ जना बेपत्ता

तराई जोड्ने सडक अवरुद्ध



ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल

विराटनगर : कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । शनिबार रातिदेखि परेको लगातार वर्षाका कारण आएको बाढी र पहिरोले बगाउँदा हालसम्म २५ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोले पूर्वको संखुवासभा, पाँचथर र ताप्लेजुङ जिल्लामा ठूलो क्षति पुर्याएको छ ।

संखुवासभाको हेवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले बगाएर ल्याएको शवको पहिचान हुन बाँकी छ ।

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावर बगाउँदा हाइड्रोपावर काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

पाँचथरमा हेवा खोलामा आएको बाढीले बगाउँदा ५ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीले फिदिम र हिलिहाङमा गरी ५ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का तिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लिम्बू बेपत्ता भएका छन् । उनीहरु हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए ।

बाढीले बगाउँदा फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता छन् ।

हेवा खोलामा आएको बाढीले तीनवटा पक्की पुल र एउटा झोलुंगे पुल पनि बगाएको छ ।

यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार