Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘सवै खेतबारीमा पानी, कोशी प्रदेश कृषि उपजको खानी’



विराटनगर : कोशी प्रदेश सरकारले खानेपानी, सिंचाई तथा उर्जाको क्षेत्रमा ५ अर्ब ४३ करोड ८३ लाखरुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा बाह्रै महिना सिँचाइ सुवाधा पुर्याएर उत्पादनमा बृद्धि गराउने बताए ।

जसका लागि सरकारले ‘सवै खेतबारीमा पानी, कोशी प्रदेश कृषि उपजको खानी’ भन्ने नाराका साथ सतह, भुमिगत तथा लिफ्ट, नयाँ र पुराना र क्षतिग्रस्त सिंचाई पूर्वाधार मर्मत संभार गरी बाह्रै महिना सिंचाइ सेवा पुर्याउनको लागि २ अर्ब ६३ करोड ९८ लाख वजेट व्यवस्था गरेको छ ।

पानीका मुलहरुको संरक्षण प्रयोगसहित वर्खे पानी संकलन पुनर्भरण पोखरी मार्फत सिंचाइ सेवा पुर्याउन ५ करोड विनियोजन गरिएको छ । प्रदेशको मध्यपहाडीका आठ जिल्लामा संचालित साना सिंचाइ कार्यक्रमलाई निरन्तरता दिन २९ करोड २७ लाख विनियोजन भएको छ ।

प्रत्येक नागरिकलाई आधारभूत खानेपानी सेवा प्रवाह गर्न “एक घर, एक धारा” कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसका लागि खानेपानी सेवा उपलव्ध नभएका स्थानहरुमा पम्प, लिफ्ट, डिपबोरिङ्ग तथा वर्षातको पानी सङ्कलन मार्फत खानेपानी सेवा उपलव्ध गराउन १ अर्ब ७६ करोड ६३ लाख विनियोजन भएको छ ।

सरकारले विद्युतीय चुलो र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गरी चार्जिङ्ग स्टेशन निर्माणका लागि १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारको लागत साझेदारीमा जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत ताप्लेजुङ्गको ७७.५ मे. वा. को घुन्सा खोला जलबिद्युत आयोजना र ७०.३ मे. वा. को सिम्बुवा खोला जलबिद्युत आयोजनाको लागि आवश्यक वजेट व्यवस्था गरिएको छ ।

यस्तै सरकारले धरान उपमहानगरपालिकाको खानेपानी समस्याको तत्कालिन समाधान गर्न वेल निर्माणका लागि ४ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार