विराटनगर : कोशी प्रदेश सरकारले अध्यादेशबाट आज बजेट ल्याउने भएको छ । बुधबार प्रदेशसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको सरकारले चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बिहीबार दिउँसो बजेट ल्याउन लागेको हो ।
कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा चालु अधिवेशन अन्त्य गर्दै प्रदेश प्रमुखले अध्यादेशबाट बजेट ल्याउन आर्थिक र विनियोजन अध्यादेश, २०८० जारी गरेका थिए ।
सरकारले दिउँसो ३ः३० बजे आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट प्रस्तुत गर्दैछ । अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषण उपस्थित नहुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
कांग्रेस संसदीय दलको बैठक बसेर सरकारले गर्ने बजेट सार्वजनिक कार्यक्रममा उपस्थित नहुने निर्णय गरेको कांग्रेस सांसद केदार कार्कीले जानकारी दिए । उनले सरकारले असंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट बजेट ल्याउन खोजेपछि आफूहरु त्यसमा सहभागी नहुने बताए ।