विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् ।
प्रदेश मन्त्रिपरिषदको बैठकको सिफारिसमा सरकारको बजेट ल्याउन प्रदेश प्रमुखले आर्थिक र विनियोजन अध्यादेश, २०८० जारी गरेका हुन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखबाट आर्थिक र विनियोजन अध्यादेश, २०८० जारी भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जनाएका छन् ।
बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पशे गरेका थिए । तर, कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरेका थिए ।
अल्पमतको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पारित हुने अवस्था नभएपछि अध्यादेशको बाटोबाट सरकारले बजेट ल्याउन लागेको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।