Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वाञ्चलका सेवा आयोगका अध्यक्षमाथि कालोमसी छर्किने नेविसंघ मोरङका सभापति पक्राउ



नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल

कैलाश चापागाईं, विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई क्वाटरमै पुगेर कालो मसी छर्किने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान कार्यालय जान लागेको समयमा पोखरेलसहितको समूहले क्वाटरमै पुगेर कालोमोसो छ्यापेको थियो । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नाम लिँदै पुगेको समूहले दाहालमाथि अमानवीय हिसाबको दुव्र्यवहार गरेपछि पोखरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

घटनापछि विश्वविद्यालय सेवा आयोगको कार्यालयले मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएपछि पोखरेललाई बुधबार बिहान पक्राउ गरिएको हो ।

प्रहरी स्रोतका अनुसार मंगलबार दर्ता भएको किटानी जाहेरीमा नेविसंघका सभापति पोखरेलसहित ३ जनाको नाम छ । घटनामा १०–१५ जना संलग्न रहेको भनेर जाहेरीमा उल्लेख गरिएको छ ।

उक्त गतिविधिाको नेतृत्वकर्ता पोखरेललाई सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले बुधबार बिहान मोरङको बूढीगंगा क्षेत्रबाट पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजीकार्य भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकरी दिए ।

नेविसंघको उक्त कार्यविरुद्ध यतिबेला चौतर्फी आलोचना भइरहेको छ । स्वयम् नेविसंघका केन्द्रीय सभापतिले विज्ञप्ती निकालेर उक्त कार्य गर्ने समूह नेविसंघको आधिकारिक समिति नभएको प्रस्ट्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार