कांग्रेस कोशी प्रदेशका संंसदीय दलका नेता उद्धव थापा
विराटनगर : कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस संसदीय दलको नेता फेर्न तयार देखिएको छ ।
अहिले कोशीका उद्धव थापा कांग्रेस संसदीय दलका नेता छन् । तर, कतिपय दलले उनलाई स्विकार गर्न नसक्ने भन्दै सरकार बनाउन आवश्यक परे संसदीय दलको नेता फेर्न कांग्रेस तयार देखिएको हो ।
मंगलबा सुनसरीको इटहरीमा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले कांग्रेसको नेतृत्वमा कोशी प्रदेश सरकार बनाउन आवश्यक परे संसदीय दलको नेता फेर्न तयार हुनुपर्ने बताए । अहिलेका दलका नेतालाई गठबन्धनका अन्य दलले स्विकार गर्न नसक्ने बताएको उनको दाबी छ ।
यदी कांग्रेसकै नेतृत्वमा सरकार बन्ने परिस्थिति निर्माण भए संसदीय दलका नेता बाधक बन्न नहुने पनि नेता घिमिरेले बताए ।
कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार कोशीमा पनि सरकार गठन हुनुपर्ने माग राख्दै आएको थियो । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेस संसदीय दलले आफ्नै नेतृत्वमा सरकार बनाउने निणर्य गरेको थियो ।
गठबन्धनका सबै दल मिल्दा पनि सरकार बनाउन संख्या अपुग हुने भएकाले एमालेसँग नजिक रहेको राप्रपालाई गठबन्धनमा ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीतिमा कांग्रेस देखिएको छ ।
तर, राप्रपाले कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रुपमा स्वीकार नगर्ने बताउँदै आएको छ ।
नेता घिमिरेले पनि राप्रपाले संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन सकारात्मक नदेखिएको स्वीकार गरे । ‘यदि अन्य दल, विशेष गरी राप्रपाले संसदीय दलका नेतालाई स्वीकार नगर्ने बताएको छ । यदि उसले अन्य व्यक्तिलाई समर्थन गर्छ भने, माओवादी पनि अहिले काँग्रेससँगै छ, दलको नेता फेर्न काँग्रेस तयार हुनुपर्छ,’ उनले भने ।
९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई अब एमाले र राप्रपाका गरी ४६ सांसदको मात्र समर्थन छ । प्रदेशमा सरकार बनाउन ४७ सांसद चाहिन्छ । अहिलेको सरकारलाई विश्वासको मत लिन एक सांसद अपुग छ । बिपक्षी गठबन्धनमा सभामुखसहित माओवादीका १३, कांग्रेसका २९, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सदस्य छन् । तर, सभामुख निर्णायक मतका लागि मात्र मतदानमा सहभागी हुने भएकाले दुवै गठबन्धनलाई सरकार बनाउन असहज छ ।