Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउवाविरुद्ध खनिए गगन, ‘अब प्रधानमन्त्रीमा फेरि आस गर्नुहुँदैन’



विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नु पार्टीको हितमा हुने बताएका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले सभापति देउवा कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्ने बताए । उनले भने, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट उहाँ बाहिर निस्कनुपर्छ । जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनुभयो, जो सुकै होला कसैले पार्टीले नेतृत्व गर्ने अवस्था आयो भने यो उहाँको हितमा छ, पार्टीको हितमा छ ।’

थापाले प्रतिनिधिसभाको यो कार्यकालमा एकपटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए । ‘यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एकपटक सरकार त बन्छ, प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो’, उनले भने, ‘यो पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि, जनताका लागि थुप्रै काम भएका छन्, अब नेपाली कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।’

देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा र नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुराका लागि मार्ग प्रशस्त गर्दा समग्र देशको हित हुने थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार