विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध चार दल एक ठाउँमा उभिएका छन् । आइतबार भर्खरै सरकारबाट बाहिरिएको नेकपा माओवादी र जसपासहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले यथाशीघ्र विश्वासको मत लिनुपर्ने बताएका छन् ।
हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकार अल्पमतमा रहेका कारण सरकारले विश्वासको मत लिएर मात्र नीति कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाइ छ । ‘अल्पमतमा परिसकेपछि यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू बजेट अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेर नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो कि भन्ने शंका उत्पन्न भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
संविधानको धारा १८४ को उपधारा (२), धारा २०२ को उपधारा (१) विपरीत संसदको अधिवेशन अन्त्य गरि अध्यादेशबाट बजेट ल्याउँदै अलोकतान्त्रिक कार्य गरिए आफूहरुलाई स्वीकार्य नहुने उनीहरुले बताएका छन् । संविधानको धारा २०७ ले पनि प्रत्येक आर्थिक वर्षमा प्रदेशसभामै बजेट पेश गर्नुपर्ने व्यवस्था गरेका कारण उल्लेखित संवैधानिक प्रावधानलाई हेक्का राख्न चार दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले संयुक्त विज्ञप्ति जारी गर्दै अघिल्ला सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई निरन्तरता दिनु सरकारको दायित्व भएको बताइएको छ ।
जनताको विकास निर्माणप्रतिको चाहनालाई रोक्ने कोसिस वर्तमान सरकारबाट भइरहेकोप्रति असहमति प्रकट गर्दै बजेटमा रहेका त्यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन हुने वातावरण सिर्जना गर्न उनीहरुले माग गरेका छन् ।
यसैबीच कोशी प्रदेशसभाको बैठक आगामी बुधबार अर्थात जेठ ३१ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।