विराटनगर : विराटनगरमा रहेको दुग्ध वितरण आयोजना (डिडिसी) ले उप्पादन गरेर बजारमा बिक्री गर्ने गरेको पनिर म्याद गुज्रिएको भेटिएको छ । डिडिसीले प्याकेजिङ्ग गरी बजार पठाएको पनिर विराटनगरको महेन्द्र चोकमा रहेको पवित्र डेरीमा म्याद गुज्रिएको अवस्थामा फेला परेको हो ।
उक्त डेरीमा बिक्री गर्न राखिएको पनिरको म्याद ९ महिनाअघि नै सकिइसकेको छ । शुक्रबार विराटनगर ६ का टंक बरालको घरमा पूजाआज भएकाले उनले उक्त डेरीबाट पनिर किनेर लगेका थिए ।
तर, घर लगेर पकाउन खोज्दा पनिर फ्यात्त भएर गन्ध आउन थालेपछि उनले प्याकेजिङ्गको मिति हेर्दा ९ महिना अघि म्याद सकिएको भेट्टाएका थिए । उक्त पनिरको मुल्य बजारमा प्रतिकेजी ४५५ रुपैयाँ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्यन्य अनुसन्धान अधिकृत शङ्कर न्यौपानका अनुसार पनिरको उपभोग्य मिति तीन महिनाको हुन्छ । तर, डिडिसीले बजार पठाएको पनिर ९ महिना अगाडी म्याद सकिएको भेटिएको उनले बताए ।
डिडिसीले बजारमा पठाएको पनिरको प्याकेटमा उत्पादन मिति २०७९ जेठ ३ गते र म्याद सकिने मिति २०७९ भदौ ३ गते रहेको छ ।
उपभोग्य मिति सकिएको ९ महिना पछिसम्म पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै म्याद गुज्रेको पनिर बिक्री गरेको उपभोक्ता युवराज बरालले बताए । यसरी म्याद गुज्रेको पनिर बजार पढाउने डिडिसीलाई कडा कारबाही हुनुपर्ने उनले बताए । ‘उपभोक्ताको स्वास्थ्य माथि डिडिसीले खेलबाड गरेको छ,’ उनले भने, ‘हामीले गन्ध आएपछि थाहा पायौँ । नभए कार्जेमा आएका सयौँ मानिसले उपभोग्य मिति सकिएको पनिर खाएर बिरामी हुने थिए । त्यसैले यस्तो गम्भीर लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले म्याद सकिएको पनिर नष्ट गरी स्याम्पल कलेक्सन गरी नमुना परीक्षणको लागि ल्याबमा पठाएको बताए । ‘ल्याब परीक्षण रिपोर्टपछि अखाद्य भेटिए डिडिसीलाई कारबाहीको दायरमा आउनेछ,’ उनले भने, ‘यसको रिपोर्ट चाँडै आउनेछ ।’ लेबलिङमा कैफियत भेटिएकोले लेबल सम्बन्धीको कारबाही जिल्ला प्रशासन कार्यालयमा मोरङमा चलाउने उनले बताए । ‘अहिले लेबलिङको स्थानीय प्रशासन चल्ने गरेको छ । खाद्यसँग सम्बन्धित कैफियत भेटिए अदालतमा अभियोग लैजाने गरिएको छ,’ कार्यालय प्रमुख रिजालले भने ।