सोरुङ छविसे : केही दिनदेखि देशभर अत्यधिक गर्मी बढेको छ । तातो हावासहितको गर्मीले नागरिकको जनजीवनमा समेत प्रभाव पार्दै गएको छ । देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ ।
तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू–भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ ।
यस्तो बेला कहाँ जाने, कस्तो ठाउँमा बस्ने भनेर धेरै अन्योलमा पर्छन् । तराईसहित देशका अधिकांश भू–भागहरूमा गर्मी बढेपनि उदयपुरको बेतिनीमा बाह्रै महिना चिसो हुने गर्दछ ।
जिल्लाको कटारी नगरपालिका वडा नम्बर ११ मा पर्ने बेतिनी भञ्ज्याङ गर्मी छल्न उत्तम स्थान मानिन्छ । कटारी बजारबाट उत्तरी क्षेत्रको २२ किलोमिटर यात्रा तय गरेपछि बेतिनी भञ्ज्याङ पुग्न सकिन्छ । सिद्धिचरण राजमार्गमा पर्ने बेतिनी भञ्ज्याङबाट सगरमाथा लगायतका हिमाल र नेपाल तथा भारतका तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।
समुद्र सतहबाट झण्डै दुई हजार मिटरको उच्चाइमा रहेको बेतिनी गर्मी याममा शितल वातावरणमा रमाउन उपयुक्त स्थान हो । एकैछिनमा घाम, हुस्सु उड्नु र पानी पर्न बेतिनी भञ्ज्याङको विशेषता हो ।
यही बेतिनी हुँदै हलेसी महादेव, विश्वकै सबैभन्दा ठूलो हिमाल सगरमाथा, ओखलढुंगालगायतका स्थान पुग्न सकिन्छ । मौसममा आउने परिवर्तनकै लागि भए पनि यात्रामा आएका मानिसहरु बेतिनीमा रोकिएर मात्रै जाने गरेको स्थानीयहरुको भनाइ छ । यसलाई कतिपयले पूर्वको दोस्रो भेडेटार समेत भन्ने गरेका छन् ।
घुम्नलाई उपयुक्त स्थान भएपनि बेतिनीमा पर्याप्त होटलहरु भने छैनन् । बेतिनीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि हाललाई भौतिक पूर्वधारको क्षेत्रमा विकास गरी सहज सडकको सुविधा, बास बस्ने घर, होटेल, मौलिक संस्कारअनुसारका खानाको मात्रै व्यवस्था मिलाउन सके पनि पर्यटकको संख्या बढ्ने स्थानीयहरु बताउँछन् ।
कसरी पुग्न सकिन्छ ?
कोशी प्रदेशको राजधानी विराटनगरदेखि करिब १७२ किलोमिटरको दुरीमा बेतिनी पर्छ । काँकरभिट्टाबाट बेतिनीको दुरी २५२ कि.मि. छ । यहाँ जानका लागि विराटनगर र काँकरभिट्टाबाट डाइरेक्ट गाडी पनि पाइन्छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जाने गाडीमा जाँदा बेतिनी पुग्न गाडी परिवर्तन गर्नु पर्दैन् ।