विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा मागेको छ ।
एमाले नेतृत्वको सरकारमा सहभागी नेकपा माओवादी र जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको कांग्रेसको भनाइ छ । तर, जसपाले भने समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयलाई बुझाइसकेको छैन ।
कांग्रेसका सचेतक भूपेन्द्र राईले प्रेस विज्ञप्ति जारी गर्दै जनताको आवाज बोल्ने प्रदेशसभालाई अल्पमतको सरकारले बन्धक बनाउन खोजेको आरोप लगाएको छ ।
कांग्रेसले प्रदेशसभाको बैठक स्थगित गरेर सरकारले सदनमा आउनु पर्ने सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरिनु अनुचित भएको जनाएको छ ।
लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न कांग्रेसले आग्रह गरेको छ ।