Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्रीमा मेरो दाबी छैन् : राजेन्द्र राई



विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा आफ्नो दावी नभएको बताएका छन् ।

मंगलबार सत्तारूढ दल नेकपा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरसँगै सरकार अल्पमतमा परेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

कोशीमा नेपाली कांग्रेस र नेकपा एसले केन्द्रीय गठबन्धन अनुसार सरकार गठन हुनुपर्ने माग राख्दै आएका थिए । केन्द्रको गठबन्धन विपरीत सत्तामा रहेका माओवादी र जसपाले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट बाहिरिएपछि अब नयाँ राजनीति कोर्स सुरु हुने नेताहरूको भनाइ छ ।

कांग्रेस र माओवादीको संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेका छन् ।

शुरुआत देखिनै आफूले मुख्यमन्त्रीको दाबी नगरेको बताउँदै राईले भनेका छन्, ‘पछि नभेटेर मुख्यमन्त्री नभएको भन्नुहोला तर मैले शुरुदेखि नै मुख्यमन्त्रीमा गठबन्धनबाट मेरो प्रथम दावी हुने छैन भन्दै आएको छु ।’

आफू मुख्यमन्त्री बन्न नचाहेको कुरा पछिल्लो समय पार्टीमा, पार्टीका खास नेता र गठबन्धनका अन्य नेतालाई प्रष्ट रुपमा राखेको उनलेे बताए ।

यसअघि पनि गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका कारण लगातार दोहोरिनु न्यायोचित नहुने उनले बताए । ‘म पदलाई होइन  होइन आदर्श, मूल्य, नैतिकतालाई प्राथमिकता दिन कोशिश गर्दै आएको मानिस हु, गठबन्धनबाट म लगातार दोहोरिनु न्यायोचित  होइन भन्ने ठान्दछु ! यही कुरा गठबन्धन भित्र प्रष्ट राख्दै गठबन्धनको सरकार बन्ने अवस्था निर्माण गर्ने कामको अगुवाइ गरिरहेको छु ।’

यस्तै सरकार सञ्चालनका बारेमा पार्टीसग धेरै बिषयमा राफसाफ कुरा नगरी सरकारमा जानु त्यति प्रिय काम हुने छैन भन्ने पाठ अघिल्लो कार्यकालको अनुभवले सिकाएको उनले फेसबुकमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘हो, भागबन्डामा दाबी हाम्रो लाग्थ्यो होला, हेर्दा हाम्रो लागि लडिलडि आए जस्तो देखिन्छ होला, त्यसरी आउदैथ्यो होला तर … अहिले म चाहिँ आफू बन्ने रेसमा छैन अरु बनाउने दौडमा छु।’

प्रतिक्रिया
सम्बन्धित समाचार