विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयलाई बुझाइसकेको छ । सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा समेत दिएका छन् ।
माओवादीबाट कोशीमा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी थिए ।
एमाले संसदीय दलका नेता हिक्मत कार्की २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाकी एक सांसद गरि ६० जनाको समर्थन थियो ।
उनलेे सोही दिन एमालेका तिलकुमार मेन्याङ्बो र जसपाकी निर्मला लिम्बूलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
जसपाकी लिम्बूले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पदबाट राजीनामा दिइसकेकी छिन् ।
६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई अब एमाले र राप्रपाको मात्रै समर्थन बाँकी छ । कार्कीले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
कोशी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन् । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
केन्दीय गठबन्धनमा रहेका दलहरुसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावीदेखि नै गठबन्धन छ ।