Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खोटाङको साकेला गाउँपालिकाले लेटरप्याडमा कोशी प्रदेश नलेख्ने



विराटनगर : खोटाङको साकेल गाउँपालिकाले आफ्नो सरकारी कागजातमा कोशी प्रदेश नाम नलेख्ने भएको छ । गाउँपालिकाको जेठ १४ गते बसेको कार्यपालिका बैठकले आफ्नो लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेको हो ।

नामकरणको विरोध भइरहेकाले पालिकाको लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय भएको बताइएको छ ।

कोशी प्रदेश नामाकरण लगत्तै विरोधमा उत्रिएको किरात राई यायोक्खा खोटाङले संघ संस्थादेखि राजनैतिक दलसम्मलाई साइनबोर्ड, लेटर प्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको थियो । यसघि खोटाङका अन्य पालिकाहरुले पनि कागजातमा कोशी प्रदेश नलेख्ने निर्णय गरिसकेका छन् ।

पहिचान पक्षधर समुहको सेन्टीमेन्ट बटुल्नका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेका छन् । स्थानीय तहभित्र प्रयोग हुने लेटर प्याडमा कोशी उल्लेख नगरे पनि प्रदेश र संघमा पठाइने लेटर प्याडमा भने कोशी नै उल्लेख गर्ने गरिएको छ ।

गत फाल्गुन १७ गते प्रदेशसभाका दुई तिहाइभन्दा बढी सदस्यको मतले कोशी नामकरण भएको थियो । तर, पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरहरुले प्रदेशमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार